
Play all audios:
काठमाडौँ — नेपाली साहित्यको इतिहासमा ‘क्लासिक’ शृङ्खला बनेर पहिलोपटक आएको छ— कविशिरोमणि रचनावली । कविशिरोमणि लेखनाथ पौड्यालका संवत् १९७३ देखि २०२४ सम्म प्रकाशित २१ कृति/रचनाको संग्रह
कविशिरोमणि रचनावलीको ५ खण्ड हालै प्रकाशनमा आएको छ । <?xml encoding="UTF-8"??> सामान्य आर्थिक हैसियतको पाठक र छन्द/काव्यप्रेमीका लागि रचनावली संग्रह अध्ययन–मननमा दुरूह (मूल्य
झन्डै ७ हजार रुपैयाँ) देखिए पनि गुणवत्ता, गरिमा र प्रकाशनस्तर आधारमा यो ‘क्लासिक’ अभियान आफैंमा अनुकरणीय देखिएको छ । कास्की पोखराको अर्घौ, अर्चलेमा संवत् १९४१ पुस १५ मा जन्मिएका लेखनाथको
२०२२ फागुन ७ गते देवघाटमा निधन भएको थियो । नेपाली भाषा–साहित्यमा लेखनाथका बुद्धिविनोद, ऋतुविचार, तरुण तपसी, पञ्चतन्त्र (अनुवाद), अभिज्ञानशाकुन्तलम (अनुवाद) आदि कविता/काव्यबारे पाठकगण जानकार
रहे पनि उनका नाटक, निबन्ध आदिबारे पाठक बेखबर छन् । यो नवीन खुराकलाई रचनावली खण्डका रूपमा नेपालय पब्लिकेसनले बजारमा ल्याएको छ । कवि सनतकुमार वस्तीले लेखनाथका रचनावलीको संकलन, संयोजन र
सम्पादनमा झन्डै ५ वर्ष समय खर्चेका थिए । कुनै विज्ञापन र प्रचारबाजीबिनै सम्पन्न यो ‘क्लासिक’ कामका बारेमा सम्पादक वस्तीसँगको कुराकानी : यो २०६८ सालतिरको कुरा हो, लेखक जगदीश घिमिरेको
‘अन्तर्मनको यात्रा’ कृति प्रकाशन भएपछि यो कृतिमार्फत कवि लेखनाथ पौड्यालको सन्दर्भ अझै जोडिएर आएको थियो । यो कृतिभित्र यत्रतत्र लेखनाथका रचनाको उद्धरण र सन्दर्भ जोडिएको मैले पाएँ । कुराकानीमा
जगदीशले भन्नुभयो, ‘हामीले लेखनाथलाई चिनेकै छैनौं । लेखनाथका हरेक पंक्तिमा, हरेक सिर्जनामा एउटा दर्शन लुकेको छ । पाश्चात्यले भन्ने अस्तित्ववाद, विसंगतिवादको होहल्लामा यहाँ बहस हुन्छ । तर,
लेखनाथले त्यो कुरा आफ्नो लेखाइ मार्फत धेरै अघि भनिसकेका रहेछन् । हामी भने विचार र दर्शनको गहिराइ खोज्न कता हो कता भट्किरहेका रहेछौं ।’ लामो दाह्री पालेको, सौम्य मुद्राको भलाद्मीजस्तो लेखनाथ
मात्रै हामीले देखेका रहेछौं । तर, एकदमै तीव्र चेतनाले भरिएको विद्रोही लेखनाथका बारेमा हामीले थाहा पाएकै रहेनछौंजस्तो भयो, उनका रचनावली सम्पादन क्रममा । कास्कीभित्रको एउटा गाउँबाट उठेर
राजधानी आउनु अनि यहाँको सत्ताशक्तिसँग जुधेर नाम–काम उभ्याउनु पक्कै पनि सहज थिएन होला, त्यो पनि राणाकालीन जगजगीमा । जगदीशसँगको निरन्तरको परामर्श र कुराकानीपछि कविशिरोमणि लेखनाथका समग्र रचनाको
खोजी तथा संकलन गर्ने सहमति जुट्यो । तर, यो असाध्य काम गर्ने कसले ? एक दिन संयोगले जगदीशकै व्यवस्थापकीय सल्लाह र अगुवाइमा डा.प्रतिभा पाण्डे (लेखनाथकी नातिनी) सँग भेटवार्ता भएपछि यो कामको
जिम्मा मैले लिएँ, २०७० को असारतिर । तर, २०७० को असोज महिनामा जगदीश घिमिरेको देहावसान भएपछि यो योजनामा झन्डै अलमल परेजस्तो स्थिति आएको थियो । त्यसपछि कविशिरोमणिको निधनपछि राष्ट्रिय अभिलेखालय
र मदन पुरस्कार पुस्तकालयमा थन्क्याइएका (छापिएका वा नछापिएका) लेखरचना, सामग्रीको संकलन गर्ने काम सुरु भयो । म कविशिरोमणि लेखनाथ लेखनीको परम्भक्त थिएँ नै, त्यसमाथि अब सम्पूर्ण लेख–रचना पढ्न र
छान्न पाउने भएँ भनेर म गदगद थिएँ । यो चरणमा डिजाइन, सेटिङ, प्रकाशन, मूल्य, खण्ड (भाग) का अनेक हैरानी कथा छन् । तर, जेनतेन सामन्जस्य पहिल्याएर कृति आएको छ । कविशिरोमणि बितेको ५२ वर्षपछि यसरी
यो रूपमा कविशिरोमणिका नाममा ‘क्लासिक’ काम हुन सकेको छ, ठूलो चर्चा र विज्ञापनबिनै । अब कविशिरोमणिका कृतिगत कुरा गर्दा मैले रचनावली प्रस्तावनामा पनि भनेको छु— लेखनाथका रचनाहरू पूर्वीय दर्शन,
अध्यात्म र आदर्श परम्पराका आलोकले समुज्ज्वलित छन् । तिनमा वेद, उपनिषद्, पुराण, रामायण, महाभारत र श्रीमद्भागवत गीताजस्ता महिमाशाली श्रद्धेय आध्यात्मिक वाङमयको रसमय स्रोतस्विनी प्रवाहित भएको
पाइन्छ । वाल्मीकि, व्यास, कालिदास, भतृहरि, क्षेमेन्द्रप्रभृत्ति श्रद्धेय कविकुलको काव्यप्रभाव र शीलस्वभाव उहाँमा प्रतिविम्बित हुन्छ । गम्भीर भावलाई सरल शब्द रचनामा र उच्च विचारलाई सहज
अभिव्यक्तिमा प्रस्तुत गर्नु उहाँको काव्यस्वभाव हो । नेपाली कवि–लेखक र विद्वान्हरूले कतिपय अवस्था वा अर्थमा बैरीभाव तथा निन्दा देखाउने गरेका छन् । कवि लेखनाथका हकमा पनि उहाँको ‘पिंजडाको सुगा’
कविता भारतीय कवि मैथिलीशरण गुप्तको ‘पिंजरे की खीर’ बाट हुबहु चोरिएको हो भनेर हामीकहाँ निन्दाक्रम सुरु भएको थियो । यथार्थ के हो भने कविशिरोमणि लेखनाथ कवि मैथिलीशरण (सन् १८८६–१९६४) बाट निकै
प्रभावित हुनुहुन्थ्यो । पक्कै पनि मैथिलीशरणको कवितामा लेखनाथ रचनाको भावभूमि मिल्छ, अर्थ मिल्छ । तर यो चोरी होइन, प्रभाव परेको भने पक्कै हो । यस्तै निन्दा फैलाएर महाकवि लक्ष्मीप्रसाद
देवकोटाको ‘लुसी’ लाई चोरी सिर्जना भनियो । रमेश विकलका कथालाई कहींकतै प्रभावित भनियो । उसो त, शिखरिणी छन्दको मास्टरपिस भनेको ‘तरुण तपसी’ हो । अब अरू कसैले यो छन्दमा लेखे पनि ‘तरुण तपसी’ को
प्रभाव भन्ने अवस्था आइहाल्छ । संस्कृतमा लेख्यो भने ‘कवि बाणभट्टको जस्तो’ भनेर प्रभाव तुलना हुन थाल्छ । कविशिरोमणि रचनावली सम्पादन गरिरहँदा मैले लेखनाथजत्तिको विनयशील र कृतज्ञ लेखक अर्को
पाइनँ, लेखनशैली र शिल्पी हेर्दा । यो सबै विद्वान्, पठितगणले बुझेको यथार्थ हो कि लेखनाथ नेपाली साहित्यमा मानव युग चेतना, शास्त्रीयता र दर्शनको लालित्यपूर्ण सरल अभिव्यक्तिका लागि श्रेष्ठ रही
आउनुभएको छ । जीवनको उत्तराद्र्धतिर आफ्नो कृति, कवित्व र साहित्यकारिताकाबारे लेखनाथले भन्नुभएको छ—‘मैले मेरो कुनै कृतिलाई सर्वश्रेष्ठ सम्झेको छैन । जुनसुकै कृतिमा पनि केही न केही कमीको अनुभव
गरिरहन्छु । सायद यस जीवनमा त्यस्तो कृति निकाल्न सक्ने छैन जसमा कि मेरो अन्तरआत्माले सर्वश्रेष्ठताको झल्को देख्न सकोस् । ...केही न केही मातृभाषाको सेवा गर्ने दीर्घरोगले अझसम्म त छाडेको छैन,
अब के होला ? त्यही भगवान् जानोस् जसले मलाई लोकसेवामा खटाएर तपाईंहरूको अगाडि पठायो ।’ कवि लेखनाथ भन्छन् –‘यो दु:ख भोग्ने परमेश्वरै होयो देह उस्को रहने घरै होयो भत्किँदा दु:ख अवश्य
मान्छसुटुक्क सामान लिएर जान्छ ।’ रचनावली सूची १. बुद्धिविनोद (१९७३)२. ऋतुविचार (१९७३)३. श्रीमद्भागत गीताको सार (१९७५)४. सत्यकलिसंवाद (१९७६)५. गीताञ्जली (१९७८)६. ऋतुविचार (१९९१)७.
वुद्धिविनोदको प्रथम विनोद (१९९४)८. लक्ष्मीपूजा नाटक (१९९४)९. वक्तव्य (१९९६)१०. त्याग र उदयको युगल प्रकाश (२००२)११. पञ्चतन्त्र अनुवाद (२००४)१२.अमरज्योतिको सत्यस्मृति (२००८)१३. लालित्य प्रथम
भाग (२०१०)१४. तरुण तपसी (२०१०)१५.मेरो राम (२०११)१६. अभिज्ञानशाकुन्तलम (अनुवाद, २०१५)१७. भतृहरि निर्वेद नाटक (२०२०)१८. लालित्य दोस्रो भाग (२०२४)१९. गंगागौरी२०. लालित्य तेस्रो भाग२१. फर्सीको
झोल (निबन्ध) प्रकाशित : असार २, २०७५ ११:२६ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,
मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस
पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com