
Play all audios:
१. वनलाई रूखहरूको जत्था मात्र भनेर बुझ्दा अर्थ निस्कँदैन । वन्यजन्तु, पन्छीहरू, सरिसृपको बासस्थान पनि हो वनक्षेत्र र यसमा सिमसार पनि पर्छ भनेर मान्दा वनको महत्त्व बेपत्ता बढ्छ । वन क्षेत्र
त्यस अवस्थामा समस्त जीव र प्राकृतिक वातावरणको अन्तरक्रियाको एकाइ बन्छ । <?xml encoding="UTF-8"??> र, खास विशेषतासहितको पारिस्थितिक प्रणाली (इकोसिस्टम) निर्माण गर्छ । उक्त
प्रणाली सन्तुलनमा रहुन्जेल, स्वस्थ रहन्छ । अन्यथा आश्रित जीवहरूको संख्या ओरालो लाग्छ र लोप पनि हुन सक्छ । वनको दोस्रो परिभाषा फराकिलो र विज्ञानसम्मत छ । साहित्य पनि वन र पर्यावरणसँग अभिन्न
गाँसिएको हामी पाउँछौं । थोरै मात्र सचेत भएर हेर्ने हो भने, सम्बन्ध जति अन्योन्याश्रित छ, उत्तिकै ऐतिहासिक छ । कविता, कथा र उपन्यासमा वन र पर्यावरण विम्ब, प्रतीक, विषय र उत्प्रेरणा भएर आएको
धेरथोर देख्न सकिन्छ । केही उदाहरण अगि सार्न सकिन्छ । २.वन, वातावरण, पर्यावरण र साहित्यको अन्तरसम्बन्धको प्रसंग चल्दा संरक्षण कविता आन्दोलन स्मृतिमा आउँछ । साथै आउँछ, आर्थिक, सामाजिक
मेरुदण्डको रूपमा वनमा परम्परादेखि आश्रित केही मध्यपहाडी गाउँहरूको चित्र । पहाड, मधेस र हिमाली गाउँहरूलाई वन वा प्रकृतिबाट अलग्याएर हेर्न सम्भवै छैन । कृषि र पशुपालन वनमै गएर ठोकिन्छ । कति
विपन्न परिवारले त दाउरा, च्याउ, निगुरो, टुसाकै बेचबिखन गर्छ । लेखक सरुभक्तको नेतृत्वमा थालिएको यस आन्दोलनले प्रकृति संरक्षणको विषयलाई जोड दिएको छ । वन, वातावरण र समग्र पर्यावरण अतिक्रमण,
दोहन र जलवायु परिवर्तनको मारमा परेकाले त्यसप्रति आन्दोलनको सरोकार छ । मानिस वन, वनस्पति र वन्यजन्तुसँग जोडिने नै खाद्यजालो (फुड वेभ) मार्फत हो । पिरामिड आकारको यो सम्बन्ध, अत्यन्त सूक्ष्म छ
। कुनै एक तह हटाइदिने हो भने वा त्यसको हैसियत बिग्रँदा समग्र पिरामिडकै सन्तुलन बिग्रन्छ । त्यति अन्तरसम्बन्धित । पिरामिड आकारले नै भन्छ, मानिस अस्तित्वको केन्द्रमा छैन । बरु सबै एकआपसमा
निर्भर छन् । खाद्यजालो वर्तुल आकारको भएको भए, भाष्य अर्कै हुन्थ्यो । केन्द्र र परिधिको कुरा आउँथ्यो । मान्छेले आफू केन्द्रमा रहेको धाक लगाउँदा पनि तर्कसंगत सुनिन्थ्यो तर यथार्थ त्यस्तो छैन ।
प्रकृतिले दिएको यी सूक्ष्मतम अन्तरसम्बन्धहरूलाई साहित्यले कसरी पक्डने ? ठूलो चुनौती छ । माटो, तालतलैया, घाँस, पतकर स्याउला, चरन र डालेघाँसमा ग्रामीण जीवन कसरी आश्रित छन् ? निर्भरताका देखिने
र नदेखिने पाटाहरू के हुन् ? स्थानीय बासिन्दाले निर्भरतालाई कसरी लिएका छन् ? संरक्षण कविता आन्दोलनको भ्रमणमा निरीक्षण गर्ने अवसर मिल्यो । आन्दोलनको उद्देश्य पनि त्यस्तै थियो । प्रकृति र
जनजीवनलाई नजिकबाट बुझ्ने र तदस्थानीय कविता सिर्जना गर्ने । वाचन गर्ने । अन्तरक्रिया गर्ने । अभियन्ताहरूबीचको वार्तालाप, बहस र अन्तरक्रिया त बोनस नै भयो । पहाडी गाउँहरूमा वनप्रतिको निर्भरता
धेरै गहिरो रहेछ । कहाँसम्म भने, संस्कृति र रहनसहन पनि पर्यावरणबाटै निर्धारण हुँदा रहेछन् । ‘कल्चरल इकलोजी थ्योरी’ ले भन्ने पनि त्यही हो । संस्कृति मानिसको स्वतन्त्र छनोटको विषयभन्दा हामी
बाँचिरहेको प्राकृतिक वातावरणले बढी निर्देशित गर्ने क्रिया हो । उपल्लो मुस्ताङमा अवशेषको रूपमा रहेको बहुपति प्रथा त्यहाँको प्राकृतिक वातावरणकै सहउत्पादन हो । सिक्लेस, याङ्जाकोट, घलेखर्क,
घाचोक, सारङ्कोट आदि गाउँहरू पुग्यौं । गुरुङ, मगर गाउँहरू अग्लामा भेटिने । बस्तुभाउ पाल्ने भएकाले घाँस र स्याउलाको निम्ति लेकै च्याप्ने । त्यसैले प्रकृति संरक्षणको विषयमा मात्र सीमित नभई
सामाजिक र सांस्कृतिक पाटाहरूबारे पनि लेख्नुपर्छ भन्दै त्यतापट्टि पनि लाग्यौं उबेला ।३.वन सन्दर्भमा चरा छुट्ने कुरै भएन । साहित्यमा चरा अत्यधिक प्रयोग भएको जैविक विम्ब होला । कवितामा त साह्रै
धेरै । चरा प्रजातिका आफ्नै प्राथमिक बासस्थान हुन्छन् । वन, खोला किनार, खेतफाँट आदि । बासस्थानपिच्छे फरक आनीबानीका चराहरू भेटिन्छ । साउन ३२ गते शनिबार भक्तपुर साँगा क्षेत्रमा चरा अवलोकन गर्न
गएको थिएँ । सबैले दूरबिन बोकेका थियौं । शाली नदीको किनाराको वन र खेत वरपर करिब डेढ दर्जन चरा देख्न पाएँ । चराविद्बाट थाहा पाउँथ्यौं, कुन प्रजाति हो ? त्यसको बासस्थान र आनीबानीबारे । हिउँ
चितुवाविद् कमल थापाले निम्त्याएका थिए मलाई । नाम सुनिराखेको तर कहिल्यै देख्न नपाएको चरा पनि देखे । जस्तै ः न्याउली चरा । न्याउली सुन्दर चरा रहेछ तर आवाजलाई चाहिँ हामी विरही भन्छौं ।
न्याउलीको आवाजलाई विरही मानेको मान्छेले नै हो । त्यो आवाज आफैंमा विरही वा के हो ? थाहा छैन । न्याउलीको हकमा त्यसको जैविक कर्महरूमा त्यो आवाजले मज्जाले सघाइरहेकै होला । विरही, मुग्ध पार्ने,
कर्कश, सुरिलो आवाज सबै मान्छेकै व्याख्या न हो । भन्ने नै हो भने, यी सबै मान्छेले स्वयम्लाई अस्तित्वको केन्द्रमा राखेर निर्माण गरेका भाष्य हुन् । मानव केन्द्रित दृष्टिकोण– एन्थ्रोपोसेन्ट्रिक
प्रस्पेक्टिभ । यसै विषयमा केही समयअघि लेखक संजीव उप्रेतीसँग छोटो वार्तालाप भएको थियो । भीष्म उप्रेतीको निबन्ध संगालोको विमोचन कार्यक्रममा । नेपाल पन्छी संघले आयोजनामा गरेको चरा अवलोकनको
कार्यक्रममा उप्रेती सहभागी भएका रहेछन् । पछिल्ला समयमा उनी चराहरूको अध्ययनमा लागेका छन् । चरा अवलोकनमा चरा मात्र अवलोकन हुँदैन । चरा समग्र प्राकृतिक पर्यावरण नियाल्ने आँखिझ्याल बन्छ । चराले
के खान्छ ? कहाँ बस्छ ? कसबाट जोगिन खोज्छ ? कहा गुँड बनाउँछ ? केले बनाउँछ ? कुन महिना अण्डा पार्छ ? कहिले हेरचाह गर्छ ? भाले र पोथीको विभिन्न काममा कस्तो भूमिका हुन्छ ? सिङ्गो पर्यावरण भेटाउन
सकिन्छ । उप्रेतीले भनेको सम्झन्छु, ‘हामीले एकदम ह्युमन सेन्ट्रिक हिसाबले सोचिरहेका रहेछौं । भिन्न जीवहरूको महत्त्वलाई बुझ्ने हो भने प्रकृतिको दृष्टिविन्दुबाट सोच्नुपर्ने रहेछ ।’
‘सिद्धान्तका कुरा’ जस्ता दूरगामी महत्त्वको सैद्वान्तिक पुस्तक लेख्ने लेखकले त्यसो भन्नु सुखद थियो । व्यस्तताले लामो कुरा हुन पाएन । सहचार्यमा जीव वैज्ञानिकहरू राचेल कार्सन, एल्डो लियोपल्ड,
इडवर्ड व. विल्सन, जर्ज स्कालर, रिचर्ड डकिन्स, प्रह्लाद योञ्जन, तीर्थबहादर श्रेष्ठ सम्झें । यी वैज्ञानिकहरूले प्रकृति, जैविक विविधता र मान्छेका अन्तरसम्बन्धलाई पर्गेलेका छन् र ज्ञानोपयोगी
पुस्तक लेखेका छन् । ४.एक जना जीववैज्ञानिकको भनाइ सम्झन्छु । पृथ्वीलाई घर नभई डेरा मान्ने अवधारणाले वन, पर्यावरण र जैविक विविधतालाई जोगाउन अधिक सघाउँछ । पृथ्वीलाई डेरा मान्दा हामीभन्दा अघि
अरू मानिस थिए, अहिले हामी छौं र हामी पछि पनि अरू मानिस बस्न आउँछन् भन्ने भाव आउँछ । भावी सन्ततिलाई सकिन्छ भने झन् राम्रो अवस्थामा, नसके कम्तीमा पनि बिग्रन नदिई हामीले हाम्रो कोठा छाडेर जाने
हो भन्ने विचारलाई यस दृष्टिकोणले बल प्रदान गर्छ । आफ्नो जीवनकाललाई मात्र नसोची, आगामी पुस्ताको निम्ति पनि सोच्ने विचार संरक्षणको निम्ति हितकर छ । सत्य पनि हो, धुपीको रूखजति लामो पनि बाँच्दैन
मान्छे । मान्छेले विशेष आफ्नो उपभोगको अवस्थालाई परख गर्न जरुरी छ । कस्ता आर्थिक, सामाजिक र राजनीतिक संरचनाहरूले पर्यावरणलाई जोगाउँछ, कस्ताले बिगार्छ, थाहा पाउन आवश्यक छ । ५.निजगढको
प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल र अमेजनको वन डढेलो पनि सामयिक विषय हुन् । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अत्यावश्यक छ । काठमाडौं उपत्यकाको ल्यान्डस्केपमा अहिलेको एयरपोर्टले
भार थेग्न नसकेको जगजाहेर नै छ । तर, प्रस्तावित २४ लाख रूख काट्नुपर्दा वन्यजन्तुको बासस्थान र जैविक मार्ग, पानीको मुहान फुटाउने त्यसको इकोसिस्टम सर्भिसेज र स्थानीय बस्तीको विस्थापनको तुलनामा
फाइदा के ? तुलनात्मक प्रश्न गर्ने हो भने चित्तबुझ्दो जवाफ भेटिँदैन । भौतिक विकास पूर्वाधारमा वन क्षेत्र नै किन रोजिन्छ ? झाडी क्षेत्र, बाँझो जमिन, हैसियत बिग्रेको वन किन खोजिँदैन ? प्रश्न
पेचिलो बन्छ । विकासको सजिलो बाटो मात्र खोज्दा पर्यावरणले धेरै नकारात्मक असर भोगेको उदाहरणहरू हाम्रासामु अनगिन्ती छन् । अझै भयावह पर्यावरणीय घटनाचाहिँ अमेजनको वन डढेलो हो । बाईस लाख वर्गमाइल
क्षेत्रफलमा फैलिएको यस वनले करिब नब्बे अर्ब टन कार्बनडाइअक्साइड आफूमा खिँचेर राखेको जर्ज मासन युनिभर्सिटीका वरिष्ठ अनुसन्धानकर्मी थोमस लव्जोय बताउँछन् । यो जुलाईमा मात्र लस एन्जेलस सहरभन्दा
बढी क्षेत्रफलको रेन फरेस्ट फँडानी भएको अनुमान छ । अमेजनमा जनवरीदेखि अगस्तसम्म ८७,००० वन डढेलो गइसकेको छ । वन डढेलोले वायुमण्डलमा उत्सर्जन हुने त्यो स्केलको कार्बन कल्पनाभन्दा बाहिर छ । यसले
पृथ्वीकै प्रतिरोध क्षमता शक्तिलाई कमजोर बनाउँछ । आगलागीले वन्यजन्तु, पन्छी र साना स्तनधारीमा पार्ने असर त सम्झँदै कहाली लाग्छ । अमिताभ घोषको ‘हंग्री टाइड’ यस विषयमा लेखिएको राम्रो आख्यान हो
। नरभक्षी बाघको आतंक, गोही बस्ने समुद्री किनार, बाढीले बारम्बार प्रलय मच्चाइरहने सुन्दरवनका आदिवासीहरूको जीवनको जोखिम र संघर्ष पढ्दा सिङ्गो प्राकृतिक र सांस्कृतिक पर्यावरण अनुभव हुन्छ ।
त्यस्तै मारियो भर्गास लोस्लाको ‘स्टोरी टेलर’ छ । पेरूको अमेजनको जंगलमा बसोबास गर्दै आएको रैथानेहरूको अस्तित्व संकटको बारेमा लेखिएको मस्तिष्क हल्लाउने आख्यान । ‘स्टोरी टेलर’ लेखक नारायण
ढकालबाट प्राप्त भएको थियो । उपेन्द्र सुब्बाको कथा ‘लाटो पहाड’ ले पनि आदिवासी लिम्बू समाजको वनप्रतिकै आलम्बनको कथा भन्छ । च्याब्रुङ यथार्थ विम्ब छ । दैलेखमै फिरन्ता राउटेलाई बजार अर्थतन्त्रले
प्रत्यक्ष–परोक्ष प्रभाव पारिरहेको देख्न सकिन्छ । सदियौंदेखि वनमा असाध्य निर्भर राउटेको जीवन संस्कृतिमा आएको दबाब बुझ्न टाढा गइराख्नु पर्दैन । बिग्रँदो पर्यावरण र भूमण्डलीकृत अर्थ–राजनीतिको
अन्तरसम्बन्ध साहित्यको अर्को विषय हो । कवितामा केही प्रयोग भए पनि आख्यानमा यस्ता विषय खासै प्रवेश गरेको छैन । देशीय र बाहिरका वातावरणीय विनाश र प्रदूषणका घटनाहरू र त्यसका जरा कारणहरूलाई
साहित्यको विषयवस्तु बनाउन जरुरी छ । वातावरणप्रति मान्छेको संवदेनालाई ब्युँताउन सके, ठूलो योगदान हुन्छ । वैयक्तिक चार घेराबाट निस्केर पर्यावरणप्रति जिज्ञासु बन्न जरुरी छ । रूख सधैं नयाँ
पालुवामा रमाउँदो रहेछनयाँ पातको प्रतीक्षामा हुँदो रहेछकति झरे पातहरू भुइँमारूखसँग दुःखमन कति पनि रहेनछयसरी पो एउटा रूखअजङ्गको भएर बाँचेको हुँदो रहेछ –उपेन्द्र सुब्बा ६अक्सिजन उत्सर्जन र
कार्बनडाइअक्साइड आफूभित्र खिच्ने हुनाले वनको महत्त्व भविष्यमा झनै बढ्ने पक्का छ । त्यसै अमेजनलाई धरतीको फोक्सो भनिएको होइन । जीव वैज्ञानिक इडवर्ड व. विल्सन यस सवालमा कडा धारणा राख्छन् ।
आफ्नो पुस्तक ‘आधा पृथ्वी ः अस्तित्वको निम्ति हाम्रो ग्रहको लडाइँ’ मा पृथ्वीको आधा भूभागलाई जैविक विविधता संरक्षण हेतु संरक्षित क्षेत्र घोषणा गर्दै विकासका गतिविधिलाई प्रतिबन्ध नै लगाउनुपर्ने
जिकिर गर्छन् । पृथ्वीलाई संरक्षणभन्दा बढी दोहन गरेको इतिहासको आलोकमा मान्छे प्रकृतिको सबैभन्दा ठूलो शत्रु भएको निष्कर्ष गलत छैन । भौतिकशास्त्री स्टिफेन हकिन्सको भविष्यवाणीले डरलाग्दो छ ।
यही दरमा मान्छेका उपभोग र गतिविधि बढ्ने हो भने, मानिसले अबको करिब ६ सय वर्षभित्र पृथ्वी छाड्नुपर्छ । पृथ्वीकै अस्तित्वको निम्ति । सौरमण्डलको कुनै उपयुक्त स्थान अन्वेषण गरी बसाइ नसरेसम्म मानव
अस्तित्व जोखिममा छ । ७जबसम्म आकाशमा चराहरू उडिरहन्छन् । आकाशले पूर्णता पाउँछ । शून्य आकाश रित्तो लाग्दैन । वनले चरालाई वासस्थान दिएर साहित्यलाई सघाएको छ । मान्छेलाई चरा जहिल्यै मन पर्छ ।
चराजस्तो स्वतन्त्र उड्ने मान्छेको आदिम आकाङ्क्षा हो । तर मान्छेको आफ्नै सीमा छ । त्यसैले ऊ उड्न असमर्थ छ । त्यो विशिष्ट सीमा भन्न विगतमा मैले छोटो कविता रचेको थिएँ । के कविताले त्यतातिर
संकेत गर्न सक्यो ? चराजस्तो स्वतन्त्र हुन मन लाग्छचराजस्तो सुन्दर हुन मन लाग्छतर चराजस्तो निस्फिक्री हुन सकिएन प्रकाशित : आश्विन ४, २०७६ ०९:५८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट
कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई
समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©
Copyright ekantipur.com